logo

२०८३ साउन १४ बिहिबार

यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन : अर्थमन्त्री

यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन : अर्थमन्त्री


हाम्रो राष्ट्र
  • सोमबार, १ जेष्ठ २०८०
  • 897
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दैै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताए ।

    “पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ”, उनले भने ।

    बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उनको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताए ।

    “यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन ।  बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए/नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ”, उनले भने ।

    सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उनले बताए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याए । प्राधिकरणले नियामकका रुपमा स्वतन्त्र ढङ्गले आफ्नो काम गर्नुपर्नेमा उनले जोड दिए ।

    प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पछिल्लो समय बीमा व्यवसायबारे नागरिकस्तरमा बुझाइ बढ्दै गएको बताए । यद्यपि तल्लो तहसम्म र सीमान्तकृत नागरिकलाई समेत समेट्ने गरी बीमा सेवा विस्तार हुन नसकेको उनले बताए । सरकारले बीमासम्बन्धी नीति परिवर्तन गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend