logo

२०८३ साउन १४ बिहिबार

पोल्याण्डका दुई आरोहीले गरे धवलागिरि हिमालको आरोहण

पोल्याण्डका दुई आरोहीले गरे धवलागिरि हिमालको आरोहण


हाम्रो राष्ट्र
  • बुधबार, ३ जेष्ठ २०८०
  • 897
    SHARES

    म्याग्दी । पोल्याण्डका दुई आरोहीले मंगलवार धवलागिरि हिमाल आरोहण गरेका छन्। यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्।

    सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए। उनीहरूले मंगलवार बिहान ७:३० बजेको समयमा धवलागिरि आरोहण गरेका हुन्। दुवै जनाले शेर्पाको सहयोगबिना हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ।

    आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाइमा स्किसमेत गरेका थिए। दुवैजना एमएडी स्कि परियोजनाअन्तर्गत धवलागिरि हिमाल आरोहण गर्न गएका थिए। गत चैत अन्तिम साता आधार शिविर पुगेका अन्य आरोही पनि धवलागिरिको चुचुरो नजिकै पुगेका बताइएको छ। धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन्।

    स्पेनका ८३ वर्षीय कालोर्स सोरियाको टोली क्याम्प-३ मा पुगेको छ। पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन्। सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका छन्।

    सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरिमा आरोही लगेका हुन्। चैतको अन्तिम साता धवलागिरि गएका आरोही प्रतिकूल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए।

    बैशाख अन्तिम हप्तादेखि मौसममा सुधार आएपछि आरोही चुचुरोतर्फ लागेका थिए। पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले बैशाखमा धेरै हिउँ परेकाले आरोहणमा ढिलाइ भएको बताए।

    सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धवलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेका थिए। पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोही काठमाडौंबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन्।

    आधार शिविरसम्म पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन्। अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धवलागिरि पदमार्गको यात्रा चुनौतिपूर्ण मानिन्छ। यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविर पुगेका छन्। धवलागिरि हिमाल धवलागिरि गाउँपालिका-४ मा पर्छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend