logo

२०८३ साउन १४ बिहिबार

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’

सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’


हाम्रो राष्ट्र
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 975
    SHARES

    मङ्गलबारे। इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पालेका छन् । २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएका उनले सेरेना जातका मौरी पालेका हुन्। पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उनले बताए । उनले भने, ‘मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन।’

    उत्पादनको पाँच प्रतिशत मात्र घारका लागि खर्च गर्न सकियो भने मौरी फस्टाउने उनको भनाइ छ । एउटा घारमा सातामा एक पटक अनिवार्य पुग्नैपर्ने उनले बताए ।

    उनले वार्षिक दुई सयदेखि दुई सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएका छन् । मह मात्रै होइन, घारका ‘फ्रेम’ पनि रु एक हजारका दरले बिक्री गर्छन्। एक घारका लागि चार वटा फ्रेम चाहिन्छ ।

    स्याङ्बाले जस्तै रोङ– ३ का प्रेमबहादुर राईले पनि ३० वटा आधुनिक घारमा मौरीपालन गरेका छन् । उनले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्दै आएका छन् । रोङ गाउँपालिकाका धेरै स्थानमा मह उत्पादन हुन्छ ।

    अधिकांश स्थानीय व्यावसायिक महबाटै आत्मनिर्भर बनेका छन्। गाउँपालिकाले मह उत्पादनमा सहयोग गर्न थालेपछि स्थानीयले मह उत्पादनलाई नै प्राथमिकता दिएका हुन् । ग्रन्द्रुक ब्राण्डिङमा सफल भएको इलामको रोङ गाउँपालिका पुन: महमा समेत एक कदम अघि बढेको हो । पछिल्लो समय ‘रोङ मह’ सधैँ र सबै ठाउँमा किन्न पाइँदैन भन्ने नारा सहित सो गाउँपालिका अघि बढेको छ।

    गाउँपालिकाले मौरीपालनलाई गाउँपालिकाको पहिचानका रुपमा स्थापित गर्न यो कार्यक्रम नै अगाडि बढाएको अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए । उनका अनुसार मौरीपालन व्यवसायमा गाउँपालिकाले पहिला पनि लगानी गरेको र अब पनि प्राथमिकतामा यस व्यवसायलाई अघि बढाइने छ ।

    केही वर्षअघि पनि गाउँपालिकाले सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याएको थियो । अर्को वर्ष २० लाख बजेट छुट्याएर काम अगाडि बढाएको थियो । सो समय किसानलाई आधुनिक मौरीपालनको सीप सिकाउनेदेखि अनुदानमा घार वितरण गर्ने कार्यक्रम तय गरिएको थियो ।

    चालु आर्थिक वर्षमा मौरीपालन र व्यावसायिकताका लागि गाउँपालिकाले रु ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका पशु शाखा प्रमुख तीर्थराज देवकोटाले जानकारी दिए। मौरीपालन व्यवसायलाई रोङको पहिचान बनाउन गाउँपालिकाले थप लगानी गरेर मह उत्पादनमा जोड दिइने गरिको कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ ।

    गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरी पालनको विकासमा लागेको छ । मौरीले वातावरण जोगाउनका लागि राम्रो भूमिका निर्वाह गर्ने भएकाले पनि मौरी जोगाउनुपर्ने बताइएको छ । साथै मौरी रहेमा मह समेत उत्पादन गर्ने र किसानको जीविकोपार्जनमा सहयोग पुर्‍याउने छ ।

    परागशेचनले ताकारीबाली फल्नसमेत मद्दत गर्ने भएकाले पनि मौरी जोगाउन लगानी गरेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ । मौरीले विषादी सेवन गर्ने भएकाले विभिन्न रोगबाट मानिसलाई बचाउने गरेको विज्ञहरुको भनाइ छ। गाउँपलिकाले किटेनीबाट नजिकै पर्ने हडियामा डेढ रोपनी जग्गामा मौरी विकास केन्द्र स्थापना गरेर काम अगाडि बढाएको छ । केन्द्रमा हाल ३२ घार मौरी छन् ।

    गाउँपालिकाले सो क्षेत्र मौरीमा राम्रो सम्भावना देखेर मौरीका लागि छुट्टै शाखा र स्रोतसमेत छुट्याइएको छ । साथै स्रोत व्यक्ति नै राखेर काम अगाडि बढाइएको छ ।

    मौरी विज्ञका रुपमा रहेका सोही गाउँपलिकाका कुमार तामाङ गाउँपालिकाको मौरी स्रोत व्यक्तिका रुपमा राखेर सो कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकामा मौरीको लागि मौरी विकास शाखा छ ।

    तामाङले मौरीपालनका लागि उचित क्षेत्रको छनोट, किसानको छनोट, तालिम सञ्चालन, तथा अनुदानमा घार वितरण गर्न सिफारिस गर्ने लगायतका कार्य गर्नुपर्दछ । साथै मौरीको उपचार गर्नेसम्मको जिम्मेवारी उनले पाएका छन् ।

    गाउँपालिकाले मौरी विकास केन्द्रबाट मह तथा मौरीका घार तथा मौरीसमेत बिक्री वितरण गर्ने र आम्दानीको स्रोत बढाउने रहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend