काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
आइतबारमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने बताए । यस घटनामा एक सय छ जना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ ।
प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहका केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यक्ति भने फरार छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend