logo

२०८३ साउन १३ बुधबार

काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी


हाम्रो राष्ट्र
  • शनिबार, १३ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।

    महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

    भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ ।

    प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगतरूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

    आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ । हिउँदमा काठमाडौँमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ ।

    यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ । महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    काठमाडौँको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ । काठमाडौँमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ । यसपछि इन्टरनेटका तारसमेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend