तनहुँ । तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेकी छन् ।
करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताइन् । “गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा एक सयका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ”, उनले भनिन् ।
कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख लगानी गरेको बताइन् । उनले भनिन्, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिइन् । एउटा पोलमा करिब दश हजारका दरले खर्च भएको उनको भनाइ थियो ।
बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताइन् । उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गरेका थिए । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भनिन्, “फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु”, “केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुनः बिरुवामा परिणत गर्ने योजना बनाएको छु ।” फुल्न लागेको समयमा हावाहुरी आउँदा केही फूल झरेर क्षति भएको उनले बताइन् ।
सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएकी हुन् । उनले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएकी छन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिइन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend