स्याङ्जा । स्याङ्जाको पुतलीबजार–१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्नेक्रममा सतौँ कोटबाट बिहीबार परीक्षण उडान गरिएको हो । सतौँ कोटमा ‘टेकअप प्वाइन्ट’ बनाइएको छ भने आँधीखोलाको किनारमा ‘ल्याण्डिङ प्वाइन्ट’ सम्याउने काम गरिएको छ ।
सतौँ कोटबाट उडेर पुतलीबजार–१० को राङखोला–११ को गैरीजाँगर र राङखोला–१३ को चारखुट्टे पुलको मुखमध्ये कुनै एक ठाउँमा अवतरण गर्न सकिन्छ ।
बाबु अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ स्कुल, बाबु एडभेञ्चर क्लब, रोडसाइड प्याराग्लाइडिङको प्राविधिक व्यवस्थापन, पुतलीबजार नगरपालिका र स्थानीय चण्डीकालिका सुव्यवस्था समितिको व्यवस्थापन तथा सहयोगमा पूर्वाधार निर्माण गरी परीक्षण उडान गरिएको बाबु एडभेञ्चर क्लबका अध्यक्ष जङ्ग केसीले बताए ।
“सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ”, उनले भने, “यसको प्रचारप्रसार र व्यवस्थापनमा जोड दिई क्रमशः व्यावसायिक उडानको तयारी गर्ने छौँ ।”
सतौँ कोटमा प्याराग्लाइडिङको सम्भावना देखेर परीक्षण उडान गरिएको र सफल भएसँगै व्यावसायिक उडानतर्फको तयारी थालिएको उनले बताए ।
जिल्लामै सञ्चालनमा रहेका कम्पनी तथा बाहिरी कम्पनीले पनि यहाँबाट व्यावसायिक उडान गर्न सक्नेछन् । ‘टेकअप’ र ‘ल्याण्डिङ’ प्वाइन्ट सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गबाट नजिकै, राम्रो हावाको बहाव, आँधीखोलाले बनाएको फाँट, मनोरम हिम दृश्यले मनमोहक भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्नेको सङ्ख्या बढ्ने उनको विश्वास छ ।
पर्यटकीय नगरी पोखराबाट एक घण्टाको दूरीमा रहेको यस स्थानबाट ‘स्लो र टेण्डम’ दुवै किसिमको उडान गर्न सकिन्छ । जिल्लाका अन्य भागमा पनि प्याराग्लाइडिङ गर्न सकिने प्रशस्तै सम्भावनाका ठाउँ भएर पनि सञ्चालनमा आउन सकेका छैनन् । प्याराग्लाइडिङको प्रचुर सम्भावना बोकेका ठाउँको पहिचान गरी पोखराको विकल्पका रुपमा अगाडि बढाउन सकिने सम्भावना देखिन्छ ।
“प्याराग्लाइडिङ सञ्चालनका दृष्टिले प्रचुर सम्भावना भएका स्थान जिल्लाका विभिन्न ठाउँमा छन्”, उनले भने, “प्रचारप्रसार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान गराउन सकेको खण्डमा राम्रो आम्दानी गर्न सकिने आधार छन् ।”
सरोकारवालाको समयमै ध्यान पुग्न नसक्दा प्रचुर सम्भावना भएका स्थान ओझेलमा पर्दै गएका छन् । स्याङ्जामा यसअघि अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ प्रतियोगितासमेत सञ्चालन भएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend