logo

२०८३ साउन १३ बुधबार

प्रधानमन्त्री दाहाल मेलम्चीमा

प्रधानमन्त्री दाहाल मेलम्चीमा


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1K
    SHARES

    मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची आइपुगेका छन् ।

    प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।

    गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन् । उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव छन् ।

    आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ । विसं २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो ।

    वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो । काठमाडौं  उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो ।

    सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ ।

    विसं २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो । विसं २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend