गण्डकी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनीतिलाई सङ्लो बनाउने अभियानमा एमाले रहेको बताएका छन् । प्रेस चौतारी गण्डकीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र केही नेताले गल्ती गर्दैमा सबै नेतालाई मुछ्न नमिल्ने बताए ।
उनले भने, ‘पार्टी अनुशासन विपरीत कोही आपराधिक क्रियाकलापमा लाग्छ भने त्यस्ता नेतालाई पार्टीले संरक्षण नगरी तुरुन्त निलम्बन गर्छ ।’ नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा निष्पक्ष छानबिन गरी दोषीमाथी कारबाही गर्न उनले सरकारलाई सुझाव दिए ।
नेकपा एमालेको हालै सम्पन केन्द्रीय कमिटी र जिल्ला अध्यक्षको बैठकले नागरिकप्रति जिम्मेवार हुँदै नागरिकका मुद्दा सूक्ष्म रुपमा उठाएर हरेक क्षेत्रमा हुने भ्रष्टाचारको भण्डाफोर गर्ने नीति तय गरेको विष्टको भनाइ थियो ।
पार्टीभित्र उन्नत प्रकारको लोकतान्त्रिक अभ्यास गर्दै राजनीतिलाई मर्यादित र सम्मानित बनाउने पक्षमा एमाले रहेको उनले बताए । नेपाली जनताको जीवनस्तर उकास्ने पार्टीको मुख्य उद्देश्य रहेको बताउँदै उनले युवावर्गलाई राजनीतिप्रति आकर्षण गर्ने लक्ष्य पार्टीको रहेको जानकारी दिए ।
नेपाली युवालाई नेपालमा नै अडिन सक्ने वातावरण सृजना गर्न एमाललेले युवा लक्षित विभिन्न कार्यक्रम ल्याउने उनले बताए । आर्थिक अवस्था कमजोर भएका नागरिकको समृद्धिका लागि एमाले सधैँ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले युवाको हितका लागि नयाँ ढङ्गबाट काम गर्ने बताए ।पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले यसका लागि सम्बन्धित निकायमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend