logo

२०८३ साउन १४ बिहिबार

बाढी पहिरोमा परी पूर्वी नेपालमा तीन जनाको मृत्यु, २९ बेपत्ता

बाढी पहिरोमा परी पूर्वी नेपालमा तीन जनाको मृत्यु, २९ बेपत्ता


हाम्रो राष्ट्र
  • आइतबार, ३ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आइतबार साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उनले बताए । अन्य तीन जनाको भने उद्धार गरिएको छ ।

    उनका अनुसार पाँचथरमा मात्रै एक जनाको मृत्यु र पाँच बेपत्ता छन् । जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुर्याएको छ । यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

    यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि कडायतले बताए ।

    सङ्खवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले दिएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन् । अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन् । यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । त्यहाँ नौवटा पशु चौपाय मरेको छ । इलामलगायत जिल्लाहरुमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend