सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । मंगलबार बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
प्रनाउ तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।
दुर्घटनामा घाइते भएका मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend