logo

२०८३ साउन १३ बुधबार

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत


हाम्रो राष्ट्र
  • बिहिबार, ७ असार २०८०
  • 897
    SHARES

     

    वीरगंज  । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ ।

    महानगरपालिकाले बुधबार वीरगञ्जमा आयोजना गरेको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०÷८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् ।

    ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगर उपप्रमुख आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिए ।

    उनका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

    सभामा उनले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय  हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिए ।

    प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा  १२ करोड विनियोजन गरिएको छ ।

    आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि  तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि  ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि  चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि  एक करोड छुट्याइएको उपप्रमुख आलमले जानकारी दिए ।

    कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

    उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताए ।

    आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेट चालु आवको तुलनामा करिब चार प्रतिशत कम रहेको छ । महानगरपालिकाको १२औँ नगर अधिवेशनबाट  तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट प्रस्तुत गरिएको थियो ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend