logo

२०८३ साउन १३ बुधबार

योगेशको प्रश्नः रोटी–बेटीको नाता भएको देशलाई हवाई प्रतिबन्ध गर्न पाइन्छ ?

योगेशको प्रश्नः रोटी–बेटीको नाता भएको देशलाई हवाई प्रतिबन्ध गर्न पाइन्छ ?


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उनले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताए ।

    उनले देशभर अधिकांश स्थानमा सडक सञ्जालसँगै यातायातको पहुँच पुगेको जनाउँदै आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्ने बताए ।

    ‘५५ विमानस्थलमध्ये केही सञ्चालनमा छैनन् र हुनसक्ने अवस्थामा पनि छैनन् । यस्तो अवस्थामा नयाँ विमानस्थल थप्ने कि नथप्ने, यो एउटा ठूलो नीतिगत प्रश्न’, उनले भने, ‘यो नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थपिँदैछ । जुन ठाउँबाट ४५ मिनेटको यातायातको दूरीमा अर्को ठूलो विमानस्थल छ ।’

    उनले पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थल सुकेटार, तुम्लिङ्टार, लुक्ला, जोमसोम, जुफाल, सिमकोट र ताल्चा विमानस्थलको स्तरोन्नति गर्न सुझाव दिए । यस्तै भरतपुर र सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।

    भट्टराईले नेपाल वायुसेवा निगमलाई ‘पब्लिक कम्पनी’का रुपमा लैजानुको विकल्प नभएको जनाउँदै निगममा अनावश्यक कर्मचारी भर्ना गरिएको र मन्त्री किरातीले नाफाको विषयमा गलत तथ्याङ्क प्रस्तुत गरेको भन्दै आपत्ति जनाए ।

    उनले नेपाल–भारतबीच ‘रोटी–बेटी’को सम्बन्ध रहेको भनेर भन्ने गरिए पनि भारतले नेपाललाई हवाई प्रतिबन्ध लगाएको बताए । उनले भने,’सडक मार्गबाट भारत जान पाउँछौं। सडक मार्गबाट भारतीयहरु नेपाल आउन पाउँछन्। हाम्रो रोटी–बेटीको नाता छ। अनि रोटी–बेटीको नाता भएको देशलाई हवाई प्रतिबन्ध गर्न पाइन्छ?’भारतले नेपाललाई चाहिने हवाई रुट नदिएको उल्लेख गर्दै भट्टराईले यस्तो अभ्यासलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिबन्ध भनिने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend