काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमाले नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन् ।
बिहीबार मदन भण्डारी फाउण्डेसन इलामले ७२ औं मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा इलामबाजारमा केही व्यक्तिले कालो झन्डा देखाएपछि सामाजिक संजालमार्फत सचिव भट्टराईले एमाले संवादका लागि तयार रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम उहाँहरुका लागि पनि लज्जाको बिषय हो ।’
भट्टराईले एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी भएको बताए । उनले भनेका छन्, ‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालोझन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ । ’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend