काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सुनका सिक्री लुटपाट गर्ने कार्यमा संलग्न गिरोहका पाँच जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
आइतबार त्रकार सम्मेलन गरी पक्राउ गरिएका पाँच जनलाई सार्वजनिक गरिएको हो । पक्राउपर्नेमा रामेछाप लिखु गाउँपालिका–१ का ३२ वर्षीय रवीन दमाईं, सुनसरी धरान उपमहानगरपालिका–८ का १८ वर्षीय रवि विश्वकर्मा, काभ्रे पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका–७ बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बङ्गाल, पश्चिम मेदनीपुर जिल्ला दासपुर थाना जयरामचोक बस्ने ४२ वर्षीय श्रीकान्त माइती रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुले काठमाडौँका विभिन्न स्थलमा ‘मर्निङ वाक’ हिँडेका महिलालाई लक्षित गरेर शृङ्खलाबद्धरुपमा महिलाले गलामा लगाएका सुनका सिक्री लुटपाट गर्ने गरेका थिए । रवीन दमाईं मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएको सुनका सिक्री लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
यसैगरी भारतीय नागरिक माइतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना पनि सुन पगाल्नेदेखि अन्य भूमिकामा रहेको खुलेको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।
उनले भने, “पक्राउ परेकाहरुले न्युरोडको जनसेवा मार्ग, चक्रपथको बङ्गलामुखी मन्दिर, सामाखुसीको कपुरधारा, टोखाको ग्राण्डी नजिकै र नागार्जुनको बुद्ध चोकबाट महिलाको सिक्री लुटेको खुलेको छ, टोखाकै विष्णुमति पुल नजिकबाट पनि सिक्री लुटपाट भएको थियो ।”
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । दमाईं र विश्वकर्मा दुई जना मिलेर पहिला रेकी गर्ने र योजनाबद्धरुपमा बाइक प्रयोग गरेर महिलालाई लक्षित गरी लुट्ने गरेको प्रहरीको दाबी छ ।
उनीहरुले राजधानीका विभिन्न आठ स्थानमा यसरी लुटपाट गरेको खुलेको र सबै लुटपाट बिहान ५ देखि ६ बजेसम्ममा भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट सुनको ढिक्का एक थान, तौल गर्दा करिब एक तोलाको सिक्री र लुटपाट गर्दा प्रयोग भएका मोटरसाइकल दुई थान, माबाइल छ थान तथा सुनको हार ४७ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend