logo

२०८३ साउन १३ बुधबार

राजसंस्थाबारे पार्टीको धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन

राजसंस्थाबारे पार्टीको धारणा तय गर्न राप्रपा नेपालद्वारा समिति गठन


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1K
    SHARES

     

    काठमाडौं । राप्रपा नेपालले राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ ।
    आइतबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष प्राडा विष्णुबहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो ।

    समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमानसिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव, सुनिता कुरुम्बाङ र सदस्यसचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेको पार्टीले जनाएको छ ।

    समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय तोकिएको राप्रपा नेपालले जनाएको छ । आजकै बैठकले सनातन धर्म संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने निर्णय गरेको छ ।

    यसैगरी पार्टीसँग आबद्ध भ्रातृ सङ्गठनहरू राष्ट्रिय खेलकुद सङ्गठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान सङ्गठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्यसचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम सङ्गठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलाई जिम्मेवारी तोकिएको छ ।

    साथै पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० साल भदौको दोस्रो हप्ता काठमाडौंमा बोलाउने निर्णय गरिएको प्रवक्ता वसन्तमानसिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend