logo

२०८३ साउन १३ बुधबार

मनाङका चौपायामा लम्पी स्किन

मनाङका चौपायामा लम्पी स्किन


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८०
  • 1.1K
    SHARES

     

    मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको लक्षण देखिएको जानकारी दिए ।

    उनका अनुसार गोरुलाई उच्च ज्वरो आएको छ । गोरुको छालामा स–सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए । “बिरामी गोरुले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षणअनुसारका गिर्खा देखिएको छ”, कुसुमले भने ।

    किसानले गोरु बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताए । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उनले बताए ।

    उक्त गोरु होचो कदको रहेको छ । “गोरुलाई लम्पी स्किन रोगको उपचार सुरु गरिएको छ, अन्य गाईगोरुसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रवन्ध मिलाएका छौँ”, कुसुमले भने ।

    मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो । मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप ल्याएको कुसुमले जानकारी दिए । मङ्गलबारबाट चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

    केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरुद्धको खोप लगाउन थालिने उनले बताए । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend