काठमाडौं । धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमानामा पर्ने बञ्चरेडाँडाको ल्यान्डफिल साइटमा स्थानीयले फोहोर लिएर गएका गाडी रोकेका छन् ।
फोहोर व्यवस्थापन राम्रो नहुँदा प्रभावित भएको भन्दै ककनी गाउँपालिका र धुनिबेँशी १ का स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले फोहोरका गाडी रोकेका र सडकमा उत्रिएर विरोध गरेका ककनी ३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिए ।
फोहोर बोकेर गएका गाडी बाटोमै रोकिएका छन् । एक महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधान गर्न निर्देशन दिए पनि चासो नदिएको उनको गुनासो छ । फोहोर र मान्छे सँगै बस्न नसकेपछि आन्दोलनमा उत्रिएको स्थानीय सुमित्रा ढकालले बताएकी छन् । उनले भनिन्,‘यस्तो गर्नु हाम्रो बाध्यता हो।’
फोहोरका कारण जनस्वास्थ्यमा असर गरेको भन्दै ककनीबासी लामो समययता आन्दोलनमा छन्। गतवर्ष भदौमा पनि आन्दोलन गरेका उनीहरूले काठमाडौं महानगरसँग सहमति गरेपछि आन्दोलन फिर्ता लिएका थिए । तर विगतको सहमति कार्यान्वयन हुन नसकेको उनीहरुले बताएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend