काठमाडौं । नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि मंगलबार अभियानमा रहेका नेताहरुले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जीत कर्णले जानकारी दिए ।
अभियानअन्तर्गत नेताहरुले सातै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेका थिए । प्रतिवेदनमा पार्टीलाई समयसापेक्ष सुधार गरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।
यसैगरी पार्टीका मूल्यमान्यता, आदर्श र सिद्धान्तलाई कुनै पनि शर्तमा कहिले पनि कोहीसँग पनि सम्झौता गर्न नहुने, लोकतान्त्रिक समाजवाद उन्मुख राष्ट्र निर्माणका सुत्र अगाडि सार्नुपर्ने, चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने, विधानमा भएअनुसार पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्नेलगायत सुझाव प्रतिवेदनमा उल्लेख छन् ।
पार्टी रूपान्तरणका लागि प्राप्त सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । सो अवसरमा पार्टीका नेता मधु आचार्य, गुरुराज घिमिरे, जगदिशनरसिंह केसी, भरतबहादुर खड्का, रीता शाहीलगायत थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले रुपान्तरण अभियानले तयार पारेको प्रतिवेदन बुझ्न अस्वीकार गरेका थिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend