logo

२०८३ साउन १५ शुक्रबार

पार्टीभित्र गुटउपगुटको राजनीति त्यागेर एकढिक्का भएर अघि बढ्नुपर्छः सभापति देउवा

पार्टीभित्र गुटउपगुटको राजनीति त्यागेर एकढिक्का भएर अघि बढ्नुपर्छः सभापति देउवा


हाम्रो राष्ट्र
  • शनिबार, ६ साउन २०८०
  • 1.7K
    SHARES

    इनरुवा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा दिगो शान्ति र स्थायित्वका लागि पार्टीभित्र एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा शनिबार ४१औँ बिपी स्मृति दिवस तथा नेपाली कांग्रेस सुनसरीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले लोकतन्त्र पक्षधर दल एकजुट हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

    विगतमा दुई तिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको उल्लेख गर्दै सभापति देउवाले अहिले पनि स्थिर सरकार रहन नदिने चलखेल भइरहेकाले सबै लोकतन्त्र पक्षधर एकजुट हुनुपर्ने बताए ।

    पार्टीभित्र गुटउपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एक ढिक्का भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

    मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा बहुमत ल्याउन नसकिएको बताए । सभापति देउवाले २०८४ को निर्वाचनमा एकल कांग्रेसको तीनै तहमा सरकार बनाउने गरी अभियानमा जुट्न नेताकार्यकर्तालाई आग्रह गरे ।

    कार्यक्रमका वक्ता केन्द्रीय सदस्यहरूले पार्टीभित्रको अन्तर कलह र आलोचना तथा गाली गर्ने काम ६ महिना मात्रै बन्द गर्न सके कांग्रेसप्रतिको जनताको धारणामा परिर्वतन आउनेमा विचार व्यक्त गरेका थिए ।

    केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले नेतृत्वले गुटबन्दी गर्न नहुने बताउँदै अब कोही पनि कुनै गुटको पछि नलाग्ने र सबै कांग्रेस एक भएको सन्देश दिने प्रण गर्नुपर्ने बताए । उनले मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि कांग्रेस एक भएको सन्देश प्रवाह गर्नलाई आग्रह गरे ।

    कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको विकास, समृद्धि र जनभावनाको कदर गर्ने पार्टी कांग्रेस भए पनि त्यसलाई बुझाउन नसक्दा समस्या देखिएकाले त्यसमा लाग्न सबैलाई आग्रह गरे । त्यसैगरी पार्टीका नेता विजयकुमार गच्छदारले कांग्रेस एकजुट भएको विश्वास जनता माझ पुर्याउन नेताहरू नै विवेकशील बन्नुपर्ने बताए ।

    केन्द्रीय सदस्य राजीव कोइरालाले मुलुकलाई दीगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न कांग्रेसको भित्र कुशलता, पारदर्शीता र जवाफदेहिता हुनुपर्ने बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश सांसद इसराईल मंसुरी, सदानन्द मण्डल, ममता तामाङ, पूर्वराज्यमन्त्री सीताराम मेहता, कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, लगायतकाले सम्बोधन गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend