logo

२०८३ साउन १३ बुधबार

सभामुख/उपसभामुख भेलाको निष्कर्षप्रति राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको आपत्ति

सभामुख/उपसभामुख भेलाको निष्कर्षप्रति राष्ट्रिय सभा उपाध्यक्ष अर्यालको आपत्ति


हाम्रो राष्ट्र
  • आइतबार, ७ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले संघ र प्रदेशका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष सहितको भेलाको निष्कर्ष तयार पार्ने प्रक्रियामा अपमान गरिएको भन्दै आपत्ति जनाएकी छन् ।

    आइतबार साँझ विज्ञप्ति जारी गरी उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका उपाध्यक्ष, संघ र प्रदेश सभाका उपसभामुखहरू रहेको एक संसदीय संयन्त्र निर्माणको नेतृत्वको विषयलाई लिएर आपत्ति जनाएकी हुन् ।

    साउन ५ र ६ गते काठमाडौँको चन्द्रागिरिमा सङ्घीय संसद् सचिवालयको आयोजनामा भएको सङ्घीय संसद् र प्रदेशसभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको निष्कर्ष तयार गर्ने प्रक्रिया र निष्कर्षप्रति आफ्नो आपत्ति रहेको उनको भनाइ छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘दुई दिनसम्म चन्द्रागिरिमा प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू र राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यूको नेतृत्व तथा प्रतिनिधिसभाका माननीय उपसभामुख, राष्ट्रियसभाको उपाध्यक्ष म आफैं, प्रदेशसभाका माननीय सभामुख र माननीय उपसभामुख एवं सङ्घीय संसद्का महासचिव, सचिवहरू र प्रदेशसभाका सचिवहरूको सहभागितामा सभा सञ्चालनका क्रममा संगालेका अनुभव, अभ्यास, समस्या र चुनौतीहरूका बारेमा निकै सौहार्दपूर्ण वातावरणमा गहन छलफल तथा अन्तरक्रिया सम्पन्न भयो । अत्यन्तै सहजतापूर्वक र सौहार्दपूर्ण रूपमा भएको छलफलको निष्कर्ष तयार गर्ने प्रक्रिया भने सहभागी सबैसँग छलफल नै नगरी अपारदर्शी तरिकाले सार्वजनिक भयो ।’

    उनले आज बिहान सङ्घीय संसद्का महासचिवले आफूलाई उपलब्ध गराएको कार्यक्रमको निष्कर्षको मस्यौदामा उल्लेख भएको विषय र पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निष्कर्ष किन फरक आएको भन्दै प्रश्न गरेकी छिन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘यो मसँग जोडिएको विषयमा मलाई जानकारी नै नगराई, थाहा समेत नदिई किन बिहान दिइएको मस्यौदा संशोधन गरियो ? कार्यक्रममा सहभागी सङ्घीय संसद्का पदाधिकारी, प्रदेश सभाका सभामुख र उपसभामुख एवं महासचिव र सचिवहरू सबै बसेर किन कार्यक्रमको निष्कर्षबारे छलफल गरिएन ? सम्माननीय सभामुखज्यू र सम्माननीय अध्यक्षज्यूप्रति मेरा प्रश्नहरू छन् ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend