logo

२०८३ साउन १३ बुधबार

कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै

कसराबाट रिउसम्मको सडक मर्मत गरिँदै


हाम्रो राष्ट्र
  • मंगलबार, ९ साउन २०८०
  • 1.2K
    SHARES

    भरतपुर । चितवनको माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो ।

    सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनले कसराबाट रिउसम्मको नौ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र सम्याउने काम गरिने बताइन् ।

    हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एकमात्र सडक हो । निकुञ्जभित्रको यो सडकमा यात्रा गर्दा वन्यजन्तुको समेत जोखिम हुन्छ । “सङ्घीय र प्रदेश सरकारबाट बजेट नपरेपछि आन्तरिक स्रोतबाटै सडक मर्मतको काम सुरु गरेका हौँ, नगरप्रमुख महतोले भनिन्, “सडक मर्मतपश्चात नागरिकलाई केही सहजता हुनेछ ।”

    एक हप्ताभित्र सडक मर्मत सक्ने गरी काम भइरहेको प्रमुख उनले बताइन् । यो सडकखण्डको स्तरोन्नति र कालोपत्रका लागि प्रत्येकपटक चुनावी नारा बन्छ । तर यसको दीर्घकालीन समस्या समाधानका लागि ठोसरूपमा काम हुनसकेको छैन ।

    यहाँ सडक कालोपत्रका लागि चितवन राष्ट्रिय निकुञ्जले बातावरणीय प्रभाव मूल्याङ्कन लागि स्वीकृति दिए पनि काममा ढिलाइ भएको नगरप्रमुख महतोले बताइन् । सडक निर्माणका लागि पटक–पटक सङ्घीय सरकारसँग अनुरोध गर्दा पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ । यो सडक हुँदै दैनिक सयौँ यात्रु ओहोरदाहोर गर्ने गर्छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend