logo

२०८३ साउन १५ शुक्रबार

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ साउन २०८०
  • 1.6K
    SHARES

    मन्थली । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् ।

    लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ ।

    रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए ।

    दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्याङ्क छैन । दोरम्बा सैलुङ्गका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङ्गेलले भने, “दोरम्बा सैलुङ्गमा तथ्याङ्क सङ्कलनको तयारी गर्दैछौँ ।”

    लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् ।

    रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगङ्गा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए । रोगको सङ्क्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend