logo

२०८३ साउन १३ बुधबार

उत्तराखण्ड पहिरोः तीन नेपालीको पहिचान खुल्यो

उत्तराखण्ड पहिरोः तीन नेपालीको पहिचान खुल्यो


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.2K
    SHARES

    महेन्द्रनगर । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो ।

    भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । “घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो ।” उनले भने ।

    घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी उपरीक्षक चर्तुवेदीले बताए । बेपत्ताको खोजीका लागि भारतीय पक्षसित समन्वय भइरहेको उनले जानकारी दिए ।

    बिहीबार रातिदेखि परेको वर्षाका कारण रूद्रप्रयागको गौरीकुण्डमा पहिरो जाँदा १३ नेपालीसहित १९ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी जारी छ ।

    उक्त क्षेत्रमा लामो समयदेखि नेपाली नागरिक परिवारका अन्य सदस्यसहित काम गर्दै आएका छन् । सो स्थानमा नेपाली नागरिकले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको बताइएको छ । बेपत्ताको खोजीका लागि नयाँ दिल्लीस्थित दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend