logo

२०८३ साउन १३ बुधबार

अब पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्छः उपमहासचिव पुन

अब पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्छः उपमहासचिव पुन


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.2K
    SHARES

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताएका छन् ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उनले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताए ।

    “भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ”, उनले भने, “प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।”

    पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उनले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिए । उनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राखे । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पारे ।

    “अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ”, उनले भने, “अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु ।” बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको भन्दै उनले अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराए ।

    अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे । पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उनले गुनासो गरे ।

    पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले भने, “पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ ।”

    उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिए ।

    “पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ”, उनले भने ।

    पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि उनले जोड दिँदै उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताए

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend