logo

२०८३ साउन १५ शुक्रबार

पार्टी एक ढिक्का भएको महसुस भएको छः अध्यक्ष प्रचण्ड

पार्टी एक ढिक्का भएको महसुस भएको छः अध्यक्ष प्रचण्ड


हाम्रो राष्ट्र
  • शनिबार, २० साउन २०८०
  • 1.3K
    SHARES

     

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका छन् ।
    कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताएका हुन् ।

    “जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ”, उनले भने, “पार्टी एक ढिक्का भएको महसुुस भएको छ, बैठक वाद, विवाद र संवादमा टुङ्गिएको छ ।”

    पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै केन्द्रीय समितिको बोल्ने क्रम लगभग सकिएको जानकारी दिए । उनले बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी निर्माणका लागि ठोस योजना ल्याउन सुझाव दिएको दिए ।

    शनिबारको बैठकमा ७४ जना केन्द्रीय सदस्यले बालेको थिए । उपाध्यक्ष महराले बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीले प्रस्तुत गरेको दस्तावेजको मूलमर्ममा सहमति जनाएको बताए ।

    “केन्द्रीय सदस्यहरुले सरकारको कामलाई धन्यवाद दिँदै सुशासनको कामलाई अघि बढाउन सुझाव दिनुभयो”, उनले भने , “पार्टी नेतृत्वको विषयमा छलफल भयो तर अध्यक्ष निर्विकल्प हुनुहुन्छ भन्नेमा सबैको मत रह्यो ।”

    माओवादी केन्द्रका केन्द्रीय सदस्य रेखा शर्माले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पार्टीले आफ्ना पदाधिकारीलाई बचाउने काम नगरेको स्पष्ट पारिन् ।

    “प्रधानमन्त्रीले घरकै मान्छे परे पनि छाड्दिन भनिसक्नुभएको छ, मिडियामा आएका आधारमा सबै व्यक्ति छानबिनको घेरामा आइहाल्छ भन्ने हुँदैन”, उनले भनिन्, “हामीसँग राजस्व अनुसन्धान विभागलगायतका विभिन्न निकायहरु छन्, उनीहरुले आवश्यक छानबिन गरिरहेका छन् ।”

    माओवादी केन्द्रका पदाधिकारीहरुको नाम मुछिएको विषयमा सम्बन्धित व्यक्ति छानबिन गर्न तथा दोषी ठहर भए सजाय भोग्न तयार रहेको भन्दै उनले यसमा कुनै समस्या नभएको स्पष्ट पारे ।

     

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend