logo

२०८३ साउन १३ बुधबार

काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी

काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ ।

    मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    यसैबीच काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै बाढीले जलसतह बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाका अनुसार बिहान ६ बजे काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो क्रममा रहको र सतर्कतामा पुगेकाले नदी तटीय क्षेत्रमा रहने र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । काठमाडौँमा आज बिहानैदेखि वर्षा जारी रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र बागमती प्रदेशमा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले मधेस, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी पहिरो, भू–क्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपाउन महाशाखाले अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend