logo

२०८३ साउन १४ बिहिबार

‘संसद प्रतिपक्षको हो भने सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’

‘संसद प्रतिपक्षको हो भने सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद अवरुद्ध गरेको भन्दै आपत्ति जनाएका छन् ।

    मंगलबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले राज्यका अंगलाई अविश्वास गर्न नहुने बताएका हुन् । उनले एमालेले प्रहरीलाई विश्वास गर्न नसकेको हो भन्दै प्रश्न गरे ।

    उनले एमालेले ३३ किलो सुन तस्करी प्रकरणको फाइल गुपचुप राखेको आरोप लगाए । उनले भने, ‘अहिले साथीहरू उच्चस्तरीय समितिको कुरा गर्दै हुनुहुन्छ तर ३३ किलो सुन तस्करी प्रकरणमा छानबिन त परको कुरा फाइल सामसुम पारियो। अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ, के सिआइबीप्रति आंशका हो ?’

    उनले विमानस्थलबाट सुन आउँदै गर्दा सरकारको एउटा निकायले कमजोरी गरेको र सिनमंगलबाट सरकारकै अर्को निकायले पक्रिएको भन्दै अनावश्यक शंका गरिएको बताए । उनले भ्रष्टाचारका फाइलहरू क्रमशः खुल्दै जान थालेपछि एमालेले अनावश्यक शंका गरेर विषयान्तर गर्न खोजेको आरोप लगाए ।

    उनले सरकारलाई सोध्नुपर्ने धेरै विषयहरू आफूहरूसँग भए पनि सदन अवरोध हुँदा सोध्न नपाएको गुनासो गरे । उनले भने, ‘संसद प्रतिपक्षको भनेर भनियो । प्रतिपक्षको आवाजलाई सुन्नुपर्छ कदर गर्नुपर्छ । प्रतिपक्षले उठाएको प्रश्नलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्छ । तर, सत्तापक्षका सांसदले बोल्ने थलो चाहिँ रत्नपार्क हो ?’

    उनले एमालेलाई मदन भण्डारीको दुर्घटना सम्बन्धी फाइल खोल्न आवाज उठाउन सुझाव दिए । उनले भने, ‘आज भन्दा ३० वर्ष २ महिना २३ दिनअघि एउटा गम्भीर दुर्घटना भयो। म श्रद्धापूर्वक नाम लिन चाहन्छु मदन भण्डारीको निधन भयो। बाहिर बोल्दा साथीहरु कुरा उठाउनुहुन्छ। उच्चस्तरीय आयोग बनाउँदै गर्दा ती फाइल पल्टाउँ न त।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend