बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार सम्बन्धी मुद्दाहरुको छानविनका लागि उच्चस्तरीय आयोग जरुरी रहेको बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले देशको प्रमुख कार्यकारी माथिनै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानविनका लागि आयोग गठन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भ्रष्टाचार निर्मुल पार्नका लागि व्यक्ति व्यक्तिलाई मात्रै कारबाही गरेर नहुने भन्दै संरचनागत ढङ्गलेनै जानुपर्ने बताए । भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे।
उनले भने,‘अहिले प्रकारान्तरले छानविनका कुरा आएका हुन्। उहाँहरु निल्नू न ओकल्नुमा हुनुहुन्छ। उहाँहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टारका सबै फाइल खोल्नु पर्छ भन्ने पक्षमै छु।’
माथिदेखिनै अनुसन्धानलाई अघि बढाउनुपर्ने भन्दै उनले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरु खोल्नुपर्ने बताए। संसदमा नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे ।
उनले भने, ‘सबैलाई छानविन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो।’ यसैगरी ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आफूमाथि पनि छानविन गर्नुपर्ने आदेशको प्रसँगमा उनले त्यसका लागि आफू सहयोग गर्न तयार रहेको बताए।
उनले भने,‘मेरो पालामा थोरै एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन । बयान दिन म तयार छु।’ उनले उच्चस्तरीय छानविनको ढोका खुल्छ भने सबैखाले सहयोग गर्न आफू तयार नै रहने उल्लेख गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend