तनहुँ। गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ। गत आवमा कूल २ हजार ८ सय ८४ वटा लिखत पारित भएकोमा महिलाका नाममा मात्रै २ हजार ६ सय २८ पास भएको कार्यालयले जनाएको छ।
गत आवमा जग्गा रजिष्ट्रेसन पास वापत २४ लाख ८४ हजार ६ सय २ रुपैयाँ राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए। महिला, दलित तथा जनजाति, शहीद परिवार, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ।
ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको संख्या दोब्बर बढी रहेको तथ्याङ्कले देखाएको छ। ग्रामीण क्षेत्रका ९ सय ७० र सहरी क्षेत्रका १ हजार ९ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयले जनाएको छ।
महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको उनले बताए। मालपोत कार्यालय तनहुँले गत आवमा कूल ३० करोड ८४ लाख ३ हजार ५४ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा १३ करोड ८२ लाख ७४ हजार ६ सय १० रुपैयाँ कम हो।
त्यसैगरी, आव २०७८/७९ मा ४ हजार ५ सय ४२ लिखत पारित हुँदा चार करोड ५५ लाख ३ हजार ५ सय २५ रुपैयाँ छुट भएको थियो। सो आवमा ४४ करोड ६८ लाख ४ हजार ६ सय ६४ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend