logo

२०८३ साउन १३ बुधबार

नेता होस्, नाता होस्, सांसद होस् वा मन्त्री, सबै फाइल खोलौंः महामन्त्री थापा

नेता होस्, नाता होस्, सांसद होस् वा मन्त्री, सबै फाइल खोलौंः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्मका सबै भ्रष्टाचारका ठूला काण्डको फाइल खोल्नुपर्ने बताएका छन् । सोमबार पार्टीको संसदीय दलको बैठकमा महामन्त्री थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्ने बताएका हुन् ।

    उनले आफ्ना अनुकूलको मात्र फाइल खोल्ने अवस्था बदल्नुपर्ने बताए । उनले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।’

    केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकू शिविर घोटालाको छानबिन गर्नुपर्ने कुरा उठान गरेको प्रसंग उल्लेख गर्दै उनले ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न सर्वोच्चले आदेश दिएपछि त्यसको प्रतिक्रियामा आएको बताए ।

    उनले भने, ‘केही दिन अगाडि डा. बाबुराम भट्टराईले क्यान्टोनमनेन्ट घोटालाको छानबिन गरौँ भन्नुभयो । ललितानिवास प्रकरणमा उहाँमाथि छानबिन हुने भएपछि त्यसको प्रतिक्रियामा यो भनाइ आएको हो । हिजोआज शीर्ष नेताहरूको यस्तै भनाइ सुनिन्छ । कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने ? तिम्रो नाम जोडिएको काण्ड के हो त ? यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्ड छन् ती सबैको फाइल खोलौँ ।’ महामन्त्री थापाले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend