काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले संरक्षित वन्यजन्तु गैँडाको आखेटोपहार (खाग) सहित चार जनालाई पक्राउ गरेको छ ।
वन्यजन्तुको अङ्ग अवैधरुपमा ओसारपसार तथा खरिदबिक्री गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिकाका प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका बस्ने वर्ष ५० का पूर्णसिंह तामाङ, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोट दुप्तेश्वर गाउँपालिकाका ३५ वर्षीय कर्ना तामाङ रहेको ब्यूरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
केही अघि पक्राउ गरी आइतबार विवरण सार्वजनिक गरेको ब्यूरोले उनीहरु चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौँमा बुझाइएको जानकारी दिएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend