logo

२०८३ साउन १३ बुधबार

अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान पुनः सुरु

अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान पुनः सुरु


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1K
    SHARES

    ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

    लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौँ  गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए ।

    करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

    यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौँ ताप्लेजुङको भाडा यसअघि नौ हजार छ सय ५३ थियो भने हाल घटाएर आठ हजार छ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर आठ हजार चार सयमा झारिएको छ ।

    मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend