काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाली महिलालाई अहिले शिक्षा र समानताको न्याय चाहिएको बताएका छन् । भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कजेलको १७औँ वार्षिकोत्सव समारोहमा उनले देशको समस्याकारुपमा रहेको अशिक्षाको प्रभाव महिला वर्गमा परिरहेको उल्लेख गरे ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, “शिक्षित हुन वा अक्षित प्रत्येक घरका आमा विश्वविद्यालय हुन् । त्यसको लाभ परिवारले मात्र होइन, सम्पूर्ण राष्ट्रले प्राप्त गर्छ ।”
शिक्षाबिना स्वास्थ्य, रोजगारी, वृत्तिविकास, राजनीतिक सहभागीता र जीवनका सम्पूर्ण आयममा पहुँच हुन नसक्ने उल्लेख गर्दै उनले राज्यका सबै फाँटमा उल्लखनीय नेतृत्वदायी भूमिका आवश्यक रहेको विचार व्यक्त गरे ।
संविधानसभा सदस्य निलाम्बर आचार्यले नेपाली महिला क्षमता नभएर होइन, अवसर र प्रेरणा नपाएर पछि परको धारणा व्यक्त गरे ।
उनले भने, “नारीलाई सर्वसुलभ शिक्षा प्रदान गर्न कलेजले महत्वपूर्ण भूमिका खेलेको छ, देशमा रहेर मातृभूमिका लागि योगदान गर्ने शिक्षा लिन र दिन पाउनु आफैमा गौरवको विषय हो ।”
कलेजको स्थापना दिवसका अवसरमा आयोजित ‘असल पुस्ता निर्माणमा हाम्रो अभियान’ विषयक अन्तरक्र्रियामा कलेजका अध्यक्ष रामप्रसाद दाहाल र प्राचार्य सविन पोखरेलले नारी शिक्षा, धर्म तथा संस्कार सबै खाले संकटको अन्त्य गर्ने बताए ।
हाँस्य व्यङ्ग्यकार चटयाङ मास्टर (कृष्णमुरारी गौतम), प्राडा वीणा पौडेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने श्रेष्ठ, गायिका अञ्जु गौतमलगायतले शिक्षा समाजको सवैभन्दा सम्मानित विधा भए पनि राज्यका निकायबीच आवश्यक तालमेल नहुँदा अनुशासन, मर्यादा र राष्ट्रप्रेम विद्यार्थीलाई दिन नसकिएको धारणा राखे । उनीहरुले आफनो संस्कृतिप्रति गर्व गर्ने र संस्कार सिकाउने शिक्षाबिना असल र सक्षम पुस्ता निर्माण गर्न कठिन हुने बताए ।
समारोहमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ र पूर्वराजदूत आचार्यलाई सम्मानका साथै ज्येष्ठ नागरिक सम्मान गुणराज काफ्लेलाई प्रदान गरियो । विसं २०६४ भदौ २४ गते स्थापित उक्त कलेजले छात्रालाई सुलभ शुल्कमा व्यवहारिक र सेवामुलक शिक्षा प्रदान गर्दैआएको छ ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सो अवसरमा कलेजको १७औँ वार्षिकोत्सवको प्रतिक चिह्न र कलेजको वार्षिक मुखपत्र ‘अनामिका’ लोकार्पण गरे । कार्यक्रममा वार्षिकोत्वका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा विजयी छात्रालाई शिल्ड प्रदान गरिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend