काठमाडौं । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिएका छन् ।
यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि विमानस्थल भन्सारकै दुई अधिकृत गणेश पौडेल र सन्तोष चन्दसहितका चार कर्मचारी पक्राउ परिसकेका छन् । सुन तस्करी प्रकरणमा शनिबार पक्राउ पर्नेको संख्या ३० पुगेको छ ।
गत साउन दुई गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।
यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाएको थियो । तर पछि विभागले सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको थियो । अहिले सिआईबीले सुन तस्करी अनुसन्धानका लागि एक टोलीलाई हङकङ र एक टोली भारत पठाएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend