logo

२०८३ साउन १३ बुधबार

भारोत्तलन विश्व च्याम्पियनशिपः ‘विकास’ले बनाए तीन राष्ट्रिय कीर्तिमान

भारोत्तलन विश्व च्याम्पियनशिपः ‘विकास’ले बनाए तीन राष्ट्रिय कीर्तिमान


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1.1K
    SHARES

     

    महेन्द्रनगर । साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् ।

    आइतबार प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन् ।

    यसअघि भट्टले स्नाचतर्फ एक सय २३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए ।

    तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वल्र्ड च्याम्पियनशिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले सो प्रतियोगितामा १६/१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए ।

    उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ एक सय ४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले एक सय ३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

    त्यसैगरी कीर्तिमान कायम गर्ने क्रममा विकास भट्टले जम्मा दुई सय ७२ किलोग्राम तौल उचालेर तेस्रो कीर्तिमान कायम राखेको प्रशिक्षक गौतमले जानकारी दिए ।

    भारोत्तोलनमा राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक विजेता भट्टले सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन् । “अहिलेकामा सबैभन्दा जुनियर खेलाडी भनेकै विकास हो”, प्रशिक्षक गौतमले भने, “विकासको प्रदर्शन उत्कष्ट नै थियो ।”

    त्यसैगरी अर्का खेलाडी विशाल विष्टको आगामी मङ्गलबार र सागर भण्डारी आगामी शनिबार प्रतिस्पर्धा रहेको छ । “महिला खेलाडीहरू प्रतियोगितामा सहभागिता सकेर हिजो नै स्वदेश फर्किसके”, गौतमले भने “यहाँ रहेका तीनजना खेलाडीहरू यसअघि चीनमा हुने एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा समेत सहभागी हुनेछन् ।

    विशाल र सागर नेपाल प्रहरी क्लबसित आबद्ध खेलाडी भए पनि वल्र्ड च्याम्पियनशिपमा सहभागी तीनै जना पुरुष खेलाडी कञ्चनपुरको उत्पादन हुन् ।

    “तीनजना भीमदत्त नगरपालिका–७ का खेलाडी हुन्”, प्रशिक्षक गौतमले भने, “एउटै वडाबाट तीन खेलाडी वल्र्ड च्याम्पियनशिपमा सहभागी हुनु सुखद विषय हो ।”

    प्रतियोगितामा एक सय १७ देशका भारोत्तोलन पुरुष तथा महिला खेलाडी सहभागी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend