logo

२०८३ साउन १४ बिहिबार

प्रहरी महानिरीक्षक कुँवरसहित सात सदस्यीय प्रहरी टोली कोरिया प्रस्थान

प्रहरी महानिरीक्षक कुँवरसहित सात सदस्यीय प्रहरी टोली कोरिया प्रस्थान


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 949
    SHARES

     

    काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरसहित सात सदस्यीय प्रहरी टोली गणतन्त्र कोरिया प्रस्थान गरेको छ । सुङक्युङ्कवान विश्वविद्यालय कोरियाको आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म सञ्चालन हुने ‘साइबर अपराध काउन्टरमेजरहरूमा रणनीतिक नेतृत्व पाठ्यक्रम’ कार्यशालमा भाग लिन सोमबार साँझ टोली कोरिया प्रस्थान गरेको हो ।

    टोलीमा प्रहरी महानिरीक्षक कुँवरसहित प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक इञ्जिनियर फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकासराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवं क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने र साइबर अपराधविरुद्ध कानुनी ढाँचा, नीतिनिर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया हुने बताइएको छ ।

    यस्तै, कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेसनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्युट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend