logo

२०८३ साउन १३ बुधबार

शिख नेताको हत्यामा भारतको हात रहेको क्यानडाको आरोप

शिख नेताको हत्यामा भारतको हात रहेको क्यानडाको आरोप


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.2K
    SHARES

    क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक शिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन् । गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक शिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो ।

    क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा ‘विश्वसनीय’ सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए । भारतले उक्त आरोपलाई अस्वीकार गरेको छ । ट्रूडोले क्यानडाको संसद् हाउस अफ कमन्समा भने, ‘क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो ।’

    दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । मङ्गलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ । क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू “निरर्थक र प्रेरित“ भएको विज्ञप्तिमा उल्लेख छ ।

    यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ । निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई दृष्टिगत गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरिएको क्यानडाले जनाएको छ ।

    सोमबार ट्रूडोको अभिव्यक्तिपछि पत्रकारहरूसँग बोल्ने क्रममा विदेशमन्त्री मेलानी जोलीले उक्त घटनामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिइन् ।

    ट्रूडोले जी२० सम्मेलनमा सहभागी हुने क्रममा उक्त विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाएका थिए । त्यस क्रममा ट्रूडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथक्तावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend