logo

२०८३ साउन १५ शुक्रबार

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि

गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.1K
    SHARES

    कास्की । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ ।
    नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो ।
    गण्डकीले विभागीय टोली नेपाल पुलिसलाई ३–२ सेटमा हराएको हो । उपाधि विजेता गण्डकीले  एक लाख ५० हजार एक सय ११, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । गत वर्ष पनि यी दुवै टोली फाइनल पुगेकोमा लगातार वर्षाले खेल रोकिएपछि पुरस्कार आधा÷आधा बाँडेर लिएका थिए । सोमबार फाइनल खेल सुरु भए पनि अँध्यारोका कारण खेल रोकिएको थियो ।
    फाइनलमा पहिलो सेट २५–२३ ले जित्दै अग्रता लिएको पुलिसले दोस्रो सेट भने गुमाउन पुग्यो । गण्डकी दोस्रो सेट २५–१९ अङ्कले जितेर बराबरी खेल्यो । तेस्रो सेट पुलिसले २५–२१ मा जिते पनि त्यसपछिका दुई सेट लगातार पराजित हुन पुग्यो । प्रतिस्पर्धात्मक खेलको चौथो सेट गण्डकीले २८–२६ मा जित्यो भने अन्तिम सेट १५–११ अङ्कले प्रहरीलाई निरास बनायो ।
    प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको पुलिसले रु एक लाख एक सय ११  पुरस्कार पायो । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले तृतीय हुँदै   ५० हजार पुरस्कार पायो । प्रतियोगितामा गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै गण्डकीका हरि पाण्डे (बेस्ट ब्लकर), किरण गुरुङ (बेस्ट स्पाइकर) र रमेश केसी (बेस्ट कोच) घोषित भए ।
    पुलिसका कुलबहादुर थापा (बेस्ट सर्भर), अभिषेक थापा (बेस्ट सेटर) र भीम गाहा (बेस्ट लिबेरो) घोषित भएको प्रतियोगिताका रेफ्री टहलसिंह थापाले जानकारी दिए ।
    महिलातर्फ भने विभागीय नेपाल पुलिस क्लबले सोमबार उपाधि जितेको थियो । प्रहरीले फाइनलमा काठमाडौँको न्यूू डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो । नवआदर्श सामुदायिक विकास समाजले हरितालिका तीज पर्वका अवसरमा २५औँ संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत १०औँ संस्करणको लामाचौर कप राष्ट्रिय भलिबल आयोजना गरेको हो । राष्ट्रिय भलिबलमा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
    प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका थिए । पुरुषतर्फ गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend