logo

२०८३ साउन १४ बिहिबार

बाँकेको अशोक सामुदायिक वनमा पाटेबाघ मृत फेला

बाँकेको अशोक सामुदायिक वनमा पाटेबाघ मृत फेला


हाम्रो राष्ट्र
  • मंगलबार, ९ असोज २०८०
  • 1.3K
    SHARES

    बाँके । बाँकेमा पाटेबाघ मृत भेटिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा मङ्गलबार साँझ ७ बजेतिर वयस्क पाटे बाघ मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय बाँकेका निमित्त वन अधिकृत गणेश खड्काले जानकारी दिए ।

    स्थानीयवासीको भनाइलाई उदृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिनअघिदेखि नै देखिएको थियो । बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पुर्याएको खड्काले बताए ।

    उनका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६, गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र आज भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो ।

    गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको पनि उनले बताए ।

    “बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौँ”, उनले भने, “अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ । बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय भोलिको परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन ।”

    निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटे बाघको परीक्षण भोलि बुधबार गरिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend