राजसंस्थाको सरंक्षण गर्ने कानूनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई राजाको अपमान गरेको अभियोगमा चार वर्ष जेलसजाय सुनाइएको छ । थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको आरोप नाम्पामाथि छ ।
यसै वर्षको शुरूमा चुनाव जितेको पार्टीले कानुनमा संशोधन गर्ने वाचा गरेको भए पनि अधिकारकर्मी नाम्पालाई दिइएको सजायले राजसंस्थाको आलोचना गर्न नपाइने विवादित कानुन बहाल रहने सङ्केत गरेको छ।
सन् २०२० मा एक प्रदर्शनको क्रममा गरेको एउटा टिप्पणीबारे परेको मुद्दामा ब्याङ्ककको अदालतले उनलाई दोषी ठहर गरेको हो । राजतन्त्रको आलोचना गर्न नपाइने विवादित कानुनले थाईल्यान्डमा राजतन्त्रको अपमान गर्नेमाथि कडा जेल सजाय हुनसक्छ।
सन् २०१४ मा कूमार्फत् सेना शक्तिमा आएयता यस्तो कानुनको प्रयोग व्यापक गरिएको छ। गत मेमा भएको आमनिर्वाचनपछि यो कानुनबारे सार्वजनिक बहस चलिरहेका समयमा अदालतको यस्तो फैसला आएको हो।
चुनावबाट सबैभन्दा ठूलो दलको रूपमा उदाएको प्रगतिशिल ‘मुभ फर्वार्ड’ पार्टीले यस्तो कानुन संसोधन गर्ने प्रतिबद्धतालाई आफ्नो चुनावी नारा बनाएको थियो।
मुभ फर्वार्ड पार्टी नेतृत्वको गठबन्धनले चुनावमा बहुमत पुर्याए पनि सेनाद्वारा नियुत्त गरिएको माथिल्लो सदनले उक्त पार्टीलाई त्यही मागका कारण सरकार बनाउन दिएन।
उक्त कानुनमा प्रस्ताव गरिएको संसोधनले थाईल्यान्डमा राजतन्त्रको हैसियतलाई चुनौती दिने भन्दै धेरै सांसदहरूले त्यसलाई अनुमति दिन नसकिने बताएका थिए।
सन् २०२० को अगस्ट ३ मा सेनाले समर्थन गरेको सरकारविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनका क्रममा देशमा सुधार गर्नुपर्ने क्षेत्रहरूमध्ये राजतन्त्र पनि पर्ने बताएपछि आनोन नाम्पा चर्चित भएका थिए । राजतन्त्रलाई बदनाम गर्ने किसिमका पोस्ट सामाजिक सञ्जालमा गरेका कारण मात्रै थाईल्यान्डमा मानिसहरूलाई ३० देखि ४० वर्षसम्मको जेल सजाय सुनाइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend