logo

२०८३ साउन १३ बुधबार

चीन भ्रमण दुवै देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन सफलः प्रधानमन्त्री

चीन भ्रमण दुवै देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन सफलः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गरेको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संयुक्त राष्ट्र सङ्घको ७८औँ
    महासभामा सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै प्रधानमन्त्रीले भ्रमणबाट दुवै देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरे ।
    “मेरो चीन भ्रमण चिनियाँ राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा गरेको नेपाल भ्रमणपछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । कोभिड–१९ महमामारीका कारण लामो समयदेखि उच्चस्तरमा कुनै भ्रमण नभएका सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई सुदृढ गरेको छ”, उनले भने ।
    भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन सहयोग प्राप्त भएको जानकारी दिँदै उनले विगतमा भएका समझदारीको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताए ।
    “चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातयात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित हुनुपर्ने मैले राखेको धारणाप्रति उहाँहरुले चीनको पूर्ण समर्थन रहेको बताउनुभयो”, प्रधानमन्त्रीले भने ।
    प्रधानमन्त्री दाहालले उच्चस्तरीय भेटमा उत्तरी सीमा क्षेत्रमा प्रशारण लाइन निर्माण, सीमा क्षेत्रमा रहेको भूभागमा केन्द्रीय विद्युत प्रशारण प्रणालीबाट विद्युत् पुर्याउन नसकिने स्थानमा सौर्य प्रणालीबाट विद्युत् जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका तथा परम्परागत सीमा नाकाको पुनः सञ्चालन, सीमा नाकामा नेपालमा पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार निर्माणमा छलफल भएको सदनलाई जानकारी गराए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend