logo

२०८३ साउन १४ बिहिबार

छरुवा प्रविधिले कञ्चनपुरमा धानको उत्पादन बढ्दो

छरुवा प्रविधिले कञ्चनपुरमा धानको उत्पादन बढ्दो


हाम्रो राष्ट्र
  • शुक्रबार, १९ असोज २०८०
  • 1.5K
    SHARES

     

    कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । उनी भाडामा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मेहनतमै बढी धान उत्पादनमा लागेका छन् ।

    धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाएका छन् । रोपेको धानभन्दा उनले खेतमा छरेको धान फस्टाउँदो छ । चिस्यानयुक्त खेतमा मेसिनको सहायताले सिधै उनले उन्नत जातको युएस तीन सय पाँच जातको धान छरेका हुन् ।

    “यस प्रविधिमा धान रोप्नका लागि खेत हिल्याउनु पर्दैन”, उनले भने, “न त रोपाहाको खोजी गरी खेतमा धान रोप्नु नै पर्छ, सिधै खेतमा सिड ड्रिल मेसिनको प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।” उनका अनुसार परम्परागत विधिको तुलनामा प्रविधिको प्रयोग गरी लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

    एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिमा लगाइएको धानको लागत खर्च १५ हजार देखि रु २० हजार कम लाग्ने गरेको उनी बताउँछन् ।

    “छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन”, मल्लले भने, “परम्परागत विधि रोपाइँ गरी लगाएको धानमा अधिकमा एक ६० दाना मात्रै रहेका छन्, प्रविधिको प्रयोग गरी गरिएको धान खेतीको उत्पादन दोब्बरले बढी भएको छ ।”

    चार बिघा जग्गामा उनले छरुवा विधिबाट धान खेती गरेका छन् । धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा भाडामा लिएर धान खेती गर्ने उनको सोच छ । उनकै प्रेरणाले बेदकोट–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधिको प्रयोग गरी एक हेक्टर क्षेत्रफलमा धान खेती गरेका छन् । मेसिनको प्रयोग गरी धान खेतमा छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उनी स्मरण गर्छिन् ।

    “धानका बोटले गाभा फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्”, उनले भने, “अर्को वर्षदेखि छिमेकका २५ किसानले यस प्रविधिमा धान खेती गर्ने भएका छन् ।” डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उनी बताउँछन् ।

    आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उनी विश्वस्त छन् । “खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु”, उनले भने, “यसरी धान खेतमा झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि प्राविधिक पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।”

    पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको जनाउँदै उनले अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताए । यस प्रविधिबाट धान खेती गर्दा प्रतिहेक्टर पाँच मेट्रिक टन धान उत्पादन हुने सेवनिवृत्त कृषि अधिकृत मल्लको भनाइ छ ।

    थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्तिको प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घटने उनी भन्छन् । “जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो गरी हुन थालेको छ”, उनले भने, “यसले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधियुक्त छ ।”

    मल्लले आफूले मात्रै यस्तो प्रविधिमा धान खेती नगरेर अरू किसानलाई पनि प्रविधिबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आएका छन् ।

    बर्सातका बेला डिआरएस प्रविधिमा धान खेती र हिउँदमा उनले रैथाने जातको आलु खेती गरी आम्दानी लिँदै आएका छन् । वर्षमा दुवै खेतीबाट  १५ देखि २० लाख जति आम्दानी हुने गरेको उनी बताउँछन् । उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मलखाद र बीउमा सहयोग पुर्याएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend