logo

२०८३ साउन १४ बिहिबार

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प, अझै केहीदिन पराकम्प आउने अनुमान

चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प, अझै केहीदिन पराकम्प आउने अनुमान


हाम्रो राष्ट्र
  • शनिबार, २० असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । बझाङ केन्द्रविन्दु भएर शनिबार दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ ।

    शनिबारको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का मापन गरिएका छन् ।

    वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ । आजको भूकम्प मङ्गलबार गएको भूकम्पको पराकम्प रहेको उनको भनाइ छ ।

    “सन् १५०५ यता त्यहाँ ठूलो भूकम्प गएको छैन । त्यसैले त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित भएको छ । दुईवटा प्लेट जुधेर सञ्चित भएको शक्ति निकास हुने भनेकै भूकम्पबाटै हो”, वरिष्ठ भूकम्पविद् कोइरालाले भने, “मङ्गलबार मझौला खालको भूकम्प गएकामा त्यसका पराकम्प अझै आइरहेका छन् । अझै केही दिन यस्ता पराकम्प आउन सक्छन् ।”

    सुदूरपश्चिम क्षेत्रमा सञ्चित भएर बसेको शक्ति निकासका लागि कुनै समय ठूलै भूकम्प जानसक्ने अनुमान गरिएको छ । स–साना कम्पनबाट त्यस्तो शक्ति निकास भएमा ठूलो कम्पनको सङ्कट टर्ने कोइराला बताउँछन् ।

    भूकम्प मापन केन्द्रका अनुसार बझाङ केन्द्रविन्दु भएर यही असोज १६ गते दिउँसो २ बजेर ४० मिनेटमा पहिलो धक्का महसुस भएको थियो । पाँच दशमलव तीन म्याग्निच्युडको उक्त कम्पनको २५ मिनेटपछि बझाङलाई नै केन्द्रविन्दु बनाएर छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।

    यस्तै असोज १६ गते दिउँसो ३ बजेर १३ मिनेटमा तेस्रो, ३ बजेर ४५ मिनेटमा चौथो, ४ बजेर २८ मिनेटमा पाँचौँ, ४ बजेर ३१ मिनेटमा छैटौँ, पाँच बजेर १९ मिनेटमा सातौँ, पाँच बजेर ३८ मिनेटमा आठौँ पटक धक्का महसुस भएको थियो ।

    असोज १७ गते राति १२ बजेर १६, १२ बजेर ५०, बिहान ४ बजेर २७ र ५ बजेर ४३ मिनेटमा भूकम्पन गएको थियो । बिहीबार राती १० बजेर ५१ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend