logo

२०८३ साउन १४ बिहिबार

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान


हाम्रो राष्ट्र
  • आइतबार, २१ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् । बेलायतका चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा ६ दिवसीय औपचारिक भ्रमणका लागि  बेलायत गएका हुन् ।

    प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । प्रस्थान गर्नुपूर्व प्रधानसेनापतिलाई जङ्गीअड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

    बेलायतमा रहँदा प्रधान सेनापतिले वेल्स, ब्रेकनस्थित सेन्नीबृज तालिम शिविर क्षेत्रको भ्रमण गर्नाका साथै त्यहाँ सञ्चालन भइरहेको क्याम्ब्रेयन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन् । भ्रमणका दौरान प्रधान सेनापतिको बेलायती समकक्षी जनरल स्यान्डर्ससँग शिष्टाचार भेटघाट हुनेछ ।

    त्यस्तै, उनले बेलायती सेनाका स्थल युद्ध विभागका निर्देशक रोयल कलेज अफ स्टडिज र रोयल मिलिटरी एकेडेमी स्यान्ड्रस्टका प्रमुखहरुसँग भेटघाट गर्नुका साथै गोर्खाहरुको ब्रिगेडको समेत भ्रमण गर्नेछन्  ।

    प्रधानसेनापतिको भ्रमण दलमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल तथा प्रधान सेनापतिका स्टाफ अधिकृत सहभागी छन् ।

    कायम मुकायमको जिम्मेवारी बलाधिकृतलाई

    यसैबीच, प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बेलायत भ्रमण सकेर प्रधान सेनापति यही असोज २७ गते स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend