काठमाडौं । सरकारले हमासले इजरायलमा गरेको आक्रमणमा परी केही नेपाली हताहत भएको आशंका गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा रहेका १२ जना नेपाली विद्यार्थी सम्पर्कबाहिर रहेका जानकारी दिएका हुन् ।
उनले केही नेपाली हताहत भएको आशंका गरिएको जानकारी दिए । हमासले शनिबार इजरायलमा गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका थिए । बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको मन्त्रीले जानकारी दिए।
इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे मन्त्री साउदले राजदूतसँग कुराकानी गरेका थिए ।
मन्त्री साउदले नेपालीको सुरक्षाका लागि मन्त्रालयमा छुट्टै संयन्त्र परिचालन गरेको बताए । परराष्ट्रमन्त्री साउदले इजरायलमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत रहेको जानकारी दिए। उनका अनुसार २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend