logo

२०८३ साउन १३ बुधबार

रामारोशनमा बढे विदेशी पर्यटक

रामारोशनमा बढे विदेशी पर्यटक


हाम्रो राष्ट्र
  • बुधबार, २४ असोज २०८०
  • 1.3K
    SHARES

     

    अछाम ।  रामारोशन अछामको मात्रै नभई सुदूरपश्मिकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन लाई रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट नाम रामारोशन रहेको किम्बदन्ती रहीआएको छ । एकथरीले यो क्षेत्रमा शिव–पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँदै आएका छन् ।

    रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वणर्न गरी नसक्नु छ ।

    रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँट, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछ । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् ।

    समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको रामारोशन प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपुर्ण ठाउँ हो ।  रामारोशनमा सुनिवन, गेराहा जिंगले, बाटुल्ला, लामादह, लिप्सेडाली, तल्लो धौने, माथिल्लो धौने, गाग्रे ,रामे, ताउलो, डउटे, दल्लेना गरी १२ ताल र बाउलेगडा, रामे, चाका चक्रपथ, रोशन जस्ता १८ पाटन रहेका छन् ।

    वर्षौदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ । करिव ६८ देशका नागरिक सामाजिक सञ्जाल मार्फत जोडिएको ‘रेन्बो फेमली’ नामको समूहले अछामको रामारोशनमा कार्यक्रम गर्न आएपछि रामारोशनको चर्चा झनै चुलिएको छ । अहिले रेन्बो फेमली नामको समूह अछामको रामारोशनमा रमाइरहेको छ ।

    पर्यटकहरुको आगमन बढेसँगै यस क्षेत्रका जनता खुशी बनेका छन् । दिनानुदिन पर्यटकहरु आउन थालेपछि यस क्षेत्रमा किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मुल्य पाएको स्थानीय दलबहादुर साउदले बताए । रामारोशन पुग्दा हरेकलाई अलौंकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताए ।

    रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनी वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ ।  रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकहरुलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकिय स्थलमा पठाउने गरेको छ ।

    विदेशी पर्यटकहरुको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ ।

    समितिले रामारोशन क्षेत्रमा पर्यटक भित्राउन रामारोशन क्षेत्रको संरक्षण गरिरहेको समितिका निर्देशक गङ्गाकुमारी कुँवरले बताइन् । रामारोशनमा यसपटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये एक ७२ जना रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक राजेन्द्र साउदले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend