logo

२०८३ साउन १५ शुक्रबार

एमसीसी परियोजनाको तीन वटा ठेक्का रद्द

एमसीसी परियोजनाको तीन वटा ठेक्का रद्द


हाम्रो राष्ट्र
  • शुक्रबार, २६ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अन्तर्गतका तीन वटा प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोल रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि एमसीए नेपालले ठेक्का रद्द गरेको हो ।

    प्रसारणलाइनको ठेक्कामा प्राविधिक प्रस्तावमा पास भएका कम्पनीले ६० प्रतिशतभन्दा बढीसम्मको आवेदन पेस गरेपछि ठेक्का रद्द गरिएको हो । एमसीए–नेपालले एमसीसी मुख्यालयसँग ठेक्का अघि बढाउने वा रोक्ने विषयमा सुझाव मागेको थियो।

    एमसीसीले पुनः बोलपत्र आह्वान गर्नुपर्ने बताएपछि ठेक्का रद्द गरिएको हो । ठेक्कामा अत्यधिक महँगो प्रस्ताव परेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि चासो दिएका थिए। उनले महँगोमा परियोजना बनाउन नसकिने भन्दै एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलाई ठेक्काका लागि पुनः बोलपत्रको सूचना निकाल्नुपर्ने बताएका थिए ।

    ३१५ किलोमिटर लामो ४०० केभी प्रसारणलाइन निर्माणका लागि २०७९ मंसिर १२ गते ठेक्काको सूचना निकालिएको थियो। प्रसारणलाइन तीन खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।

    बोलपत्रमा लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा (११७ किलोमिटर) पहिलो खण्ड, रातमाटे–न्यु दमौली (९० किलोमिटर) दोस्रो खण्ड र न्यु दमौली–न्यु बुटवल, न्यु बुटवलबाट भारतीय सीमासम्म (१०८ किलोमिटर) तेस्रो खण्ड गरी कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भनिएको थियो। ठेकेदार कम्पनीले लागत अनुमानभन्दा ६० प्रतिशतसम्म महँगोमा प्रस्ताव गरेपछि तीनवटै ठेक्का रद्द गरिएको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend