काठमाडौं । काठमाडौंको गैरीगाउँमा सामूहिक हत्या प्रकरणको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार हत्याका मुख्य अभियुक्त सञ्जय भण्डारीविरूद्ध मुद्दा दायर गरेको हो ।
गैरीगाउँस्थित दिव्य समिलमा भएको सामूहिक हत्याको अनुसन्धान सकेर बुधबार प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा अभियुक्तलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजाय मागदाबी गरिएको छ ।
अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादीले मृतकहरू ४ जनालाई क्रुर तथा अमानवीय तवरबाट निर्ममतापूर्वक ज्यान मारेको हुँदा निज प्रतिवादीले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) बमोजि निर्ममतापूर्वक हत्या गरेको ठहर गरी सोही दफा ४१(क) बमोजिम निज प्रतिवादीलाई जीवित रहेसम्म कैद हुनेगरी जन्मकैदको सजायको माग गरी अभियोगपत्र पेश गरिएको छ ।’
भण्डारीले भदौ ३० गते श्री दिव्य समिलमा नवीन भनिने विशाल राई, दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या गरेका थिए ।
प्रहरीसँगको बयानमा सञ्जयले आफू नवीनको हत्या गर्न तीनकुने गएको तर हत्या गर्दै गर्दा अन्य व्यक्तिहरूले पनि देखेपछि उनीहरूको पनि हत्या गरेको बयान दिएका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend