काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य राजिव विक्रम शाहले प्रदेश सरकारले एक वर्षको गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ । आज कर्णाली प्रदेश सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली कांग्रेस र नेकपा माओवादीको चुनावी गठबन्धन एक सपना बोकेर आएको गठबन्धन भएपनि अहिले मतदातालाई धोका भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘चुनावमा जाँदा भएको गठबन्धन झण्डै एक महिनापछि टुट्ने अवस्थामा पुगेको थियो । फेरि लगभग दुई महिनापछि गठबन्धन कायम भयो । फेरि हाम्रो विकासको सपना पाक्यो । मन्त्रिमण्डल गठन भयो, नेकपा माओवादीको नेतृत्वमा नेपाली कांग्रेस र समाजवादी मिलेर सरकारमा गए । यो गठबन्धन लगभग १० महिना कायम भयो ।’
उहाँले अगाडि भन्नुभयो, ‘आशा थियो धेरै रणनीतिक कुराहरुसँगै कानुन पेश हुन्छ अनि विकास निर्माणले तिव्रता पाउँछ । तर खोई के कारणले म प्रश्न गर्न चाहान्छु, सरकारले विकासको गति नै लिन सकेन ।’ सोही अवसरमा बोल्दै शाहले गत कात्तिक १७ को बारेकोट भूकम्पको उद्धार कार्यमा प्रदेश सरकारले नेतृत्व लिन नसकेको बताउनुभयो । अहिले पनि जाजरकोट र रुकुम पश्चिमका पीडितको अवस्था नाजुक रहेको भन्दै उद्धार कार्यमा सरकारले विलम्ब गर्न नहुने उल्लेख गर्नुभयो । राजनीति शत्ता केन्द्रीत भन्दा पनि जनताका लागि हुनुपर्नेमा उहाँको जोड थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend